पोखरा, बिरौटा – आध्यात्मिक चेतनाले उज्यालिएको पोखरा–१७, बिरौटामा सञ्चालित श्री गण्डकी कोटिहोम महायज्ञ अहिले भक्तिभाव र श्रद्धाको केन्द्र बन्दै गएको छ। यही भक्ति माहोललाई अझ गाढा बनाउन चर्चित भागवत प्रवक्ता देवी प्रतिभा जीको आज भव्य आगमन भएको छ।
काठमाडौंबाट पोखरा आइपुग्नुभएकी देवी प्रतिभा जीलाई महायज्ञ स्थलमा विशेष सम्मानसाथ स्वागत गरिएको छ। भक्तजनहरूका बीचमा उहाँको आगमनले महायज्ञको रौनक नै फेरिएको छ। संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजले देवी प्रतिभा जीको आगमनलाई एक आध्यात्मिक वरदानको संज्ञा दिएका छन्।
हाल महायज्ञको पूर्वसन्ध्यामा गत चैत्र २९ गतेदेखि श्रीमद्भागवत कथा प्रवचन जारी छ, जसले पोखरा–१७ बिरौटालाई आध्यात्मिक ऊर्जा र दिव्य भावनाले भरिरहेको छ। अब देवी प्रतिभा जीको दिव्य वाणीले यो वातावरण झनै भक्तिमय बन्ने आशा गरिएको छ।