पोखरा महानगरपालिका–१७, बिरौटामा सञ्चालनमा रहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ विधिपूर्वक अगाडि बढिरहेको छ। मुख्य कोटिहोम महायज्ञ बैशाख १७ गतेदेखि सुरु हुने कार्यक्रम तय भइसकेको छ।
महायज्ञको पूर्वसन्ध्यामा हाल श्रीमद्भागवत कथा प्रवचन कार्यक्रम जारी छ, जसको सुरुवात चैत्र २९ गतेबाट भएको थियो। पछिल्ला ६ दिनदेखि बाल विदुषी अनुराधा पाण्डेयद्वारा संगीतसहितको कथा प्रवचन भैरहेको छ, जुन भोलि समापन हुँदैछ।
भोलिकै दिन, चर्चित कथा वाचिका देवी प्रतिभा जीको पोखरा आगमनको कार्यक्रम समेत तय गरिएको छ। संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजका अनुसार, देवी प्रतिभा जी हाल काठमाडौंमा हुनुहुन्छ र भोलि बिहान पोखरा आइपुग्ने कार्यक्रम तय भइसकेको छ। पोखरा आगमनपछि, उहाँलाई दिउँसो २ बजे बिरौटामा स्वागत गरिनेछ।
भोलि बिहान १० बजे अनुराधा पाण्डेयले आफ्नो अन्तिम कथा प्रवचन गर्नेछिन्। त्यसपछि दिउँसो २ बजे देवी प्रतिभा जीको स्वागत कार्यक्रम हुनेछ।
आयोजक समितिले सम्पूर्ण पोखरावासीहरूलाई कार्यक्रममा उपस्थित भई देवी प्रतिभा जीलाई स्वागत गर्न र धार्मिक कार्यक्रमलाई सफल बनाउन अनुरोध गरेको छ।