काठमाडौँ, ५ फागुन : नेपालको पत्रकारिता क्षेत्रमा एउटा बेग्लै इतिहास र महत्त्व बोकेकै कारण राष्ट्रिय समाचार समिति (रासस)ले विशिष्ट खाले भूमिका निर्वाह गर्दै आएको छ । राससले मुलुकका सबै भागका संस्कृति, सभ्यता र आवाजलाई जोड्ने कोसिस गरिरहेको छ ।
सरकारी सञ्चारमाध्यम राससले अपेक्षित रूपमा नयाँ प्रविधिलाई प्रवेश गराई आफूलाई समयसापेक्ष तुल्याउन सक्नुपर्छ । अरू सरकारी संस्था जस्तै यसको पनि साधन–स्रोत कम छ भन्ने सुनेको छु । त्यसप्रति आवाज उठाउन र सोच्नुपर्ने बेला आएको छ । नेपालमा सकारात्मक सन्देश प्रवाह गर्नेभन्दा नकारात्मक पक्षका घटनाले चर्चा र ‘भ्युज’ पाउने गरेको छ । धेरै मानिस चटपटे न्युजका पछाडि दौडिरहेका देखिन्छ । राष्ट्र र राष्ट्रियताको संवर्द्धन गर्ने तथा जनचेतनामूलक न्युजलाई आवश्यक महत्त्व दिएको पाइँदैन । हामी जुनसुकै पार्टी र खेमाका भए पनि राष्ट्रपति र प्रधानमन्त्री देशका साझा सम्पत्ति हुन् । उहाँहरूको ओज घटाउने ढङ्गबाट समाचार सम्प्रेषण हुनुहुँदैन ।
सुन्दा अचम्म लाग्छ संसारमै नभएको गलत सोच र विचार कहिलेकाहीँ यहाँ देखिन्छ । पत्रकार भनेको पार्टी र समूह विशेष नभई राष्ट्रको सम्पत्ति हो । पत्रकारले पार्टी र समूहभन्दा माथि उठेर सत्यतथ्यमा आधारित रही सन्तुलित ढङ्गबाट समाचार र सूचना प्रवाह गर्नुपर्छ । पत्रकार भनेको आँखाको नानीजस्तै उज्यालो देखाउने हुनुपर्छ । देशलाई स्वच्छ र स्वतन्त्र रूपले अघि बढाउने भूमिका हुनुपर्छ । राष्ट्रको उन्नति, प्रगति र समृद्धिमा यहाँ कमीकमजोरी रह्यो, अब यसरी सच्याएर जानुपर्छ भन्नेमा पत्रकारको भूमिका ठूलो हुन्छ । तर विडम्बना भन्नुपर्छ, पार्टी, समूह र सङ्घसंस्थाभित्र बढी अलमलिएको पाइन्छ । पत्रकार र पत्रकारिता स्वतन्त्र र निष्पक्ष भएमा मात्र आवाजविहीनका आवाज आउँछ, अनि त्यसको महत्त्व बढी हुन्छ ।
पत्रकारिता सन्तुलित नहुँदा संसद्मा साना राजनीतिक दल, महिला, आदिवासी, जनजाति र मधेसी समुदायले उठाइएका राम्रा विषयवस्तुले पनि स्थान पाउन सकिरहेका छैनन् । कतिपय समाचार जनतालाई भ्रमित पार्ने किसिमले आउने गरेको छ । सदनमा रहेका २७५ मध्ये हरेक दिन ४०/५० जनाले शून्य समय क्षेत्र, भूगोल र समुदायसँग जोडिएका महत्त्वपूर्ण विषय उठाउँछन् तर त्यसले स्थान पाउन सकेको छैन ।
ठूला पार्टीका नेताका भने मन्त्रिपरिषद्बाट–संसद् पुगेको विषय पनि समाचार बनाइने गरेको देखिन्छ । अर्कातर्फ कुनै सांसद एक साता सडकबाटो हिँडेर काठमाडौँ आएको विषय समाचार बन्दैन । एक–अर्कालाई आरोप लगाउने, गालीगलौज गर्ने अनि जनतालाई अलमलमा पार्न खोज्ने काम पनि कतिपय सञ्चारमाध्यमबाट भइरहेको छ । यस्ता गलत क्रियाकलापलाई तत्काल रोक्नुपर्छ । चर्काे आवाजले अरूलाई गाली गर्नेको न्युज बिक्री हुने तर सभ्य र शालीन बोल्नेलाई मिडियाले स्थान नदिने अवस्था छ । यस्तो परिस्थितिमा राससलगायत मूलधारका सञ्चारमाध्यमको भूमिका अलि बढी हुनुपर्छ । हाम्रा प्रस्तुतिले नेपाल र नेपाली पहिचान योगदान दिने हुनुपर्छ । समाचार सत्यतथ्यमा आधारित हुनुपर्छ । नकारात्मक समाचारमा पनि सकारात्मक सन्देश प्रवाह गर्ने खाले हुनुपर्छ ।